शैलेश साह, पोखरिया ।
पर्साको पोखरिया नगरपालिका–४, पोखरियामा नेकपा (एमाले) को ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ। संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउँदै आगामी निर्वाचनलाई लक्षित गरी कमिटी गठन गरिएको हो।
नेकपा (एमाले) पोखरिया नगर कमिटी संयोजक भगवान प्रसाद कुर्मीको अध्यक्षतामा तथा मधेश प्रदेश कमिटी सदस्य एवं पोखरिया नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानको प्रमुख आतिथ्यमा बसेको बैठकले नयाँ वडा कमिटी गठन गरेको हो।
बैठकले वडा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित ३२ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ। नवगठित कमिटीले पार्टीको नीति, विचार र कार्यक्रमलाई वडा तहका नागरिकसम्म पुर्याउँदै संगठन विस्तार तथा सुदृढीकरणमा काम गर्ने अपेक्षा गरिएको छ।
नवगठित वडा कमिटीको अध्यक्षमा पारस प्रसाद चौहान, उपाध्यक्षमा राजऋषि चौहान, सचिवमा पवन गुप्ता, सह–सचिवमा शत्रुघ्न प्रसाद चौहान र कोषाध्यक्षमा पूजा देवी कानु चयन भएका छन्। कमिटीमा अन्य सदस्यहरू पनि रहेका छन्।
कार्यक्रममा नेकपा (एमाले) पर्सा क्षेत्र नं. ३(ख) का संयोजक कौशल किशोर साह गोढ, सचिवालय सदस्य सुरेश पासवान, जोगेन्द्र रौनियार, सञ्चारकर्मी धर्मेन्द्र प्रसाद चौरसिया, शैलेश गुप्ता, दिनेश मिश्रा, सोनालाल चौहान लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरूले वडा तहमा संगठन बलियो भए मात्र पार्टीको राजनीतिक प्रभाव थप विस्तार गर्न सकिने बताएका थिए। उनीहरूले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता, समन्वय र सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए।
नेताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पोखरिया नगरपालिका–४ मा पार्टीको संगठनलाई अझ मजबुत बनाउन तथा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन कार्यकर्तालाई आग्रह गरेका थिए। वडा नम्बर ४ मा पार्टीलाई जित दिलाउने लक्ष्यका साथ एकजुट भएर चुनावी तयारीमा जुट्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
नवगठित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठनलाई वडा तहमा थप चलायमान बनाउँदै स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठन विस्तारसँगै स्थानीय स्तरमा जनसम्बन्धलाई मजबुत बनाउनुपर्ने र जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने धारणा राखेका थिए।
यससँगै पोखरिया नगरपालिका–४ मा एमालेले आफ्नो वडा संगठनलाई औपचारिक रूपमा विस्तार गर्दै आगामी राजनीतिक तथा निर्वाचन गतिविधिका लागि आधार तयार गरेको छ।





