वीरगञ्ज, पर्सा — पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कक्षा १२ को परीक्षा सकाएर बसेका युवाहरूलाई स्क्याम, गलत संगत र प्रविधिको दुरुपयोगबाट टाढा रहन आग्रह गर्नुभएको छ।
वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको “नयाँ यात्राको शुभारम्भ” शीर्षकको कार्यक्रममा सम्बोधन गर्दै एसपी मिश्रले युवाहरूलाई आफ्नो लक्ष्यमा केन्द्रित भई सकारात्मक दिशामा अघि बढ्न प्रेरणा दिनुभयो।
उहाँले भन्नुभयो, “साथी संगत र प्रविधिको गलत प्रयोगले धेरै युवाहरूको भविष्य बिथोलिएको छ। त्यसैले, आजका युवाहरूले सजगता र अनुशासनको बाटो रोज्न अत्यन्तै आवश्यक छ।”
एसपी मिश्रले वीरगञ्ज पब्लिक कलेजलाई अनुशासित र प्रतिष्ठित शैक्षिक संस्था भन्दै प्रशंसा गर्नुभयो र यहाँका विद्यार्थीहरूको छवि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा कलेज प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। युवाहरूको जीवनमा नयाँ सुरुवातको अवसरमा आयोजित यस सचेतनामूलक कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा भरेको थियो।