वीरगञ्जस्थित प्रतिष्ठित शैक्षिक संस्था साउथ जोन माध्यमिक विद्यालयमा २०८२ सालको विद्यार्थी काउन्सिल निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको छ। यस पटक पनि विद्यालयमा विगतका वर्षहरूसरह अनलाइन भोटिङ प्रणालीको प्रयोग गरिएको थियो।
विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि विद्यालय प्रशासनले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास र जिम्मेवारीको भावना विस्तार गर्न विद्यार्थी काउन्सिल गठन प्रक्रिया अघि बढाएको हो। निर्वाचनमा Head Boy, Head Girl, Captain, Vice-Captain, Prefect लगायत पदहरूको लागि प्रतिस्पर्धा भएको थियो।
सयौं विद्यार्थीहरूको अनलाइन भोटिङमार्फत सम्पन्न निर्वाचनमा कक्षा ९ का विद्यार्थी राहुल रौनियार अत्यधिक मत ल्याउँदै Head Boy पदमा विजयी भएका छन्।
राहुलले आफ्नो जितपश्चात् प्रतिक्रिया दिंदै भने,”म सबै साथीहरूप्रति आभारी छु। मलाई दिएको विश्वास र मतको सम्मान गर्दै म विद्यालयको अनुशासन, सम्मान र विद्यार्थीको हितमा काम गर्नेछु।”
विद्यालयका प्रधानाध्यापक सरोज चौधरीले राहुल र अन्य विजयी प्रतिनिधिहरूलाई बधाई दिँदै भने, “हामी विद्यालयमा प्राविधिक युगसँग कदम मिलाउँदै अगाडि बढिरहेका छौं। अनलाइन भोटिङ प्रणालीबाट पारदर्शिता कायम भएको छ र विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउने अवसर पनि मिलेको छ।”
निर्वाचन प्रक्रियामा विद्यार्थीहरूबीच अत्यधिक उत्साह देखिएको थियो। उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गरी प्रचार अभियान चलाएका थिए जुन सामाजिक सञ्जाल, कक्षा भ्रमण र डिजिटल पोस्टरमार्फत गरिएको थियो।
अनलाइन भोटिङका लागि विद्यालयको आन्तरिक पोर्टल प्रणाली प्रयोग गरिएको थियो, जहाँ प्रत्येक विद्यार्थीले आफ्नो युजर आईडीमार्फत भोट दिन सके।
नवनिर्वाचित काउन्सिल सदस्यहरूबाट विद्यालयले अनुशासन, कार्यक्रम व्यवस्थापन, सह-शैक्षिक गतिविधिमा समन्वय, र छात्र-छात्राको आवाज बुलन्द पार्ने काममा नेतृत्व दिने अपेक्षा गरेको छ।