वीरगन्ज। बीरगंजको राधेमाइ स्थित साउथ जोन बिधालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले अत्यन्तै सन्देशमूलक तथा प्रेरणादायक कार्य गरेका छन्। विद्यार्थीहरूले आफ्नो स्कुल बाहिरको समय उपयोग गर्दै बिरगंजस्थित मानव सेवा आश्रममा गई त्यहाँ बसोबास गरिरहनु भएका असहाय तथा जेष्ठ नागरिकहरूसँग भेटघाट गरी गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रमको सुरुवातमा विद्यार्थीहरूले सामूहिक रूपमा आमा–बुबासँग संवाद गर्दै आशीर्वाद लिए। त्यसपछि, सबैको सहभागितामा केक काटी गुरु पूर्णिमाको महत्वबारे जानकारी दिइएको थियो। विद्यार्थीहरूले मानवताको भावनाले ओतप्रोत हुँदै, “हामी हर्षित त तभी हुन्छौं जब हाम्रो सानो सहयोगले अरूको अनुहारमा खुसी ल्याउन सक्छ” भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै आफ्नो खाजा खाने पैसा बचत गरेर आश्रममा सहयोग स्वरूप केही आर्थिक सहयोगसमेत हस्तान्तरण गरेका छन्।
साउथ जोन विद्यालयका शिक्षकहरूका अनुसार, विद्यालयले विद्यार्थीहरूलाई सामाजिक सेवा, संस्कार र मानवता सम्बन्धी मूल्य शिक्षामा जोड दिँदै आएको छ। विद्यालयका प्रतिनिधिहरूले भनें, “हामी विद्यार्थीहरूमा सामाजिक चेतना र सेवाको भावना जगाउन सधैं प्रयत्नरत छौं। आजको दिन त्यही प्रयासको एउटा उदाहरण हो।”
विद्यार्थीहरू आफैंले यस कार्यक्रमको योजना बनाएका थिए, जसमा उनीहरूले खाना खाँदा खर्च हुने रकम बचत गरेर वृद्धवृद्धाहरूलाई फलफूल, खाद्यान्न र आर्थिक सहयोग गरेका छन्। कार्यक्रमपछि आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकहरूको अनुहारमा देखिएको मुस्कानले सबैलाई भावुक बनाएको थियो।
एक विद्यार्थीले भने, “आज हामीले साँचो अर्थमा गुरुपूर्णिमा मनायौं। शिक्षकहरूले हामीलाई पुस्तक पढाउने गुरू हुन् भने, जीवनको कठोर यथार्थ सिकाउने यी आमा–बुबा पनि हाम्रा जीवनका महान गुरू हुन्।”
मानव सेवा आश्रमका प्रतिनिधिहरूले विद्यार्थीहरूको यस्तो सकारात्मक पहलको खुलेर प्रशंसा गरेका छन्। आश्रम प्रमुखले भने, “हामीलाई खुशी लाग्यो कि अहिलेको पुस्तामा पनि यति संवेदनशीलता र सेवाभाव छ। साउथ जोनका विद्यार्थीहरूको यो कार्य समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ।”
यस खालको गतिविधिबाट विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सहानुभूति र आत्मिक सन्तुष्टिको भावना विकास हुने विश्वास विद्यालय पक्षको रहेको छ। अन्त्यमा, विद्यालयका शिक्षक र विद्यार्थीहरू सबैले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।