पोखरिया। नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, वीरगञ्ज इकाईको हुन गइरहेको नयाँ कार्यसमितिको निर्वाचनलाई लक्षित गर्दै विभिन्न उम्मेदवारहरू प्रचार-प्रसारमा सक्रिय रहेका छन्। यसै सन्दर्भमा सौरभ वर्णवालको नेतृत्वमा बनेको प्यानलका तर्फबाट उम्मेदवार रहेका जहिर आलमले वीरगञ्ज इकाईका सम्पूर्ण सदस्यहरूलाई उक्त प्यानललाई भारी बहुमतका साथ विजयी गराउन हार्दिक अपील गरेका छन्।
उम्मेदवार आलमका अनुसार सौरभ वर्णवाल एक कुशल, दूरदर्शी र भरोसायोग्य नेतृत्वकर्ताका रूपमा स्थापित भइसकेका छन्। “For Change, For Transparency, For Betterment, For Equality, For Trustworthy Leadership” भन्ने नाराका साथ अघि बढिरहेको यो प्यानलले संघमा आवश्यक सुधार र नयापन ल्याउने विश्वास व्यक्त गरिएको छ।
उनले भने, “वर्णवाल नेतृत्वमा वीरगञ्ज इकाईले नयाँ गति पाउनेछ। संघको समग्र विकास, सदस्यहरूको हकहितको संरक्षण तथा पारदर्शिता कायम गर्न सक्षम नेतृत्व आवश्यक छ, र त्यो गुण सौरभ वर्णवालमा प्रशस्त छ।”
संघभित्र देखिएको निष्क्रियता, सदस्यहरूका आवाजलाई नसुनिएको अवस्था र संगठनात्मक ढाँचामा सुधारको आवश्यकता उल्लेख गर्दै आलमले सौरभ वर्णवाल नेतृत्वको प्यानल नै समाधानको उपाय भएको बताए।
त्यस्तै, उम्मेदवार आलमले वर्णवाल प्यानलमार्फत संघमा सबै सदस्यहरूको समान सहभागिता, निर्णय प्रक्रियामा पारदर्शिता, नियमित कार्यक्रम, तालिम तथा पेशागत अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि दिएका छन्।
उनले थपे, “यो निर्वाचन केवल नेतृत्व परिवर्तनका लागि होइन, संघलाई नयाँ दिशा दिने अवसर हो। त्यसैले, वीरगञ्ज इकाईका सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्दछु— सौरभ वर्णवाल प्यानललाई अत्याधिक बहुमतले विजयी गराई संघको समुन्नति र सकारात्मक परिवर्तनमा साथ दिनुहोस्।”
निर्वाचन नजिकिँदै गर्दा वीरगञ्ज इकाईमा चासो र उत्साह बढ्दो छ। विभिन्न उम्मेदवारहरू आफ्नो एजेन्डा सहित मैदानमा उत्रिरहेका छन्। तर, सौरभ वर्णवाल नेतृत्वको प्यानलप्रति उत्साह र विश्वास जनाउँदै आएका सदस्यहरूको संख्या उल्लेख्य देखिएको छ।
संघको आगामी नेतृत्व चयन प्रक्रियाले औषधि तथा बिक्री प्रतिनिधिहरूको पेशागत गरिमा, अधिकार र विकासमा कस्तो असर पार्नेछ भन्ने विषयमा सबैको चासो केन्द्रित छ। सौरभ वर्णवाल प्यानलले परिवर्तन, उत्तरदायित्व र समावेशीताको मार्गचित्र अघि सारेको दाबी गरिरहेको छ।
निर्वाचन मिति नजिकिँदै गर्दा अब मतदाताहरूको निर्णायक निर्णयले संघको भावी दिशा निर्धारण गर्नेछ।





