रौतहट, गरुडा — गरुडा नगरपालिकाले नगर क्षेत्रका विपन्न तथा दलित समुदायका छात्राहरुलाई लक्षित गरी साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ। सोही कार्यक्रम अन्तर्गत वडा नं.–७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दोस्तियामा अध्ययनरत २२ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिएको हो।
बुधबार एक समारोहबीच नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरे। उनले विद्यालय टाढा भएका कारण दैनिक शिक्षामा पहुँच कठिन भएकोले छात्राहरुको पठनपाठन सहज बनाउन यो पहल गरिएको बताए। “साइकलले विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्न ठूलो भूमिका खेल्नेछ,” नगरप्रमुख जयसवालले भने।
साइकल पाएका कक्षा ८ का छात्राहरु खुशी व्यक्त गर्दै नगरप्रमुखको पहलको प्रशंसा गरेका छन्।
कार्यक्रममा शिक्षा शाखाका सह–संयोजक शेख चाँद अलीले विद्यालयसम्मको पहुँच सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। “दूरीका कारण कतिपयले पढाइमै विच्छेद गर्नुपर्ने अवस्था आउँथ्यो, अब त्यो समस्या समाधान हुनेछ,” उनले भने।
वडा नं.–७ का वडाध्यक्ष प्रबिण सिंह यादवले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै गरिब तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न पालिका निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
नगरप्रमुख जयसवालले चालु आर्थिक वर्षमा नगरस्तरीय बजेटमार्फत अन्य विद्यालयका छात्राहरुलाई पनि क्रमशः साइकल वितरण गरिने जानकारी दिएका छन्।