वीरगञ्ज । भारतको प्रसिद्ध धार्मिक स्थल श्री केदारनाथ र श्री बद्रीनाथ धामतर्फ प्रस्थान गर्न लागेका नेपाली तीर्थयात्रीहरूलाई राष्ट्रिय समता पार्टी नेपालद्वारा एक विशेष कार्यक्रमका बीच ससम्मान बिदाइ गरिएको छ।
उक्त बिदाइ कार्यक्रम वीरगञ्जको ऐतिहासिक माईस्थान मन्दिर प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रममा पार्टीका महासचिव अभिषेक तिवारी, वीरगञ्ज नगर अध्यक्ष अमर सरार्फ लगायतका पदाधिकारी र कार्यकर्ताहरूको सक्रिय उपस्थिति थियो।
टिका, खादा र नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै भक्तजनलाई धार्मिक यात्राको सफलताको शुभकामना दिइएको कार्यक्रममार्फत यात्रुहरूको सम्मानपूर्वक बिदाइ गरिएको हो। यात्रामा सहभागी समूहमा प्रह्लाद चौरसिया लगायतका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय समता पार्टी नेपालका प्रतिनिधिहरूले विदेशमा समेत नेपालको नाम उच्च राख्ने कार्यमा तीर्थयात्रीहरूको भूमिका रहने विश्वास व्यक्त गर्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र संस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने यस्ता यात्राको महत्वमा जोड दिएका थिए।
बिदाइ कार्यक्रममा स्थानीय सर्वसाधारण, धर्मगुरु, समाजसेवीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबैले तीर्थयात्रीहरूको सुरक्षित यात्रा, आध्यात्मिक शान्ति र सफल दर्शनको कामना गरेका थिए।
उक्त कार्यक्रमले नेपाली समाजमा धार्मिक पर्यटन र आध्यात्मिक यात्राको महत्व झनै उजागर गरेको र समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।