पोखरीया २०८२ श्रावण २९ – कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवा प्रवाहमा दीर्घकालीन ढिलासुस्ती, घुसको चलन र पालो मिचेर काम गर्ने अनियमितता सम्बन्धी गम्भीर आरोप सार्वजनिक भएका छन्।
सेवाग्राहीहरूका अनुसार, ८ गते पेश गरिएको निवेदन अझैसम्म सविता भट्टराई (सहायक रजिष्ट्रार) ले पूरा गरेकी छैनन्। तर, सोही अवधिमा उनीले अरू धेरै नयाँ निवेदनहरू छोटो समयमै पूरा गरेको देखिन्छ। स्रोतको भनाइअनुसार, पैसा दिएर काम गराउनेको निवेदन एक घण्टामै पूरा हुन्छ, तर पैसा नदिनेको निवेदन २०–३० दिनसम्म पनि निष्पादन हुँदैन।
यो विषयमा गुनासो कम्पनी रजिष्ट्रारको गुनासो सुन्ने अधिकारी ज्ञानराज कोइरालासमक्ष पुर्याउँदा उनले “मलाई केही थाहा छैन” भन्ने जवाफ दिएका छन्। उनी भन्छन्, “System मा पालोपालो काम हुन्छ, जबसम्म पुरानो १० वटा निवेदन नम्बरको काम सकिँदैन, अर्को निवेदन नम्बरको काम गर्न मिल्दैन।”
तर, सेवाग्राहीहरूले प्रश्न उठाएका छन् — यदि प्रणाली पालोपालो चल्ने हो भने, किन पुरानो निवेदनको काम नगरी नयाँ निवेदनको काम अघि सारिएको छ? यसरी पालो मिच्ने प्रवृत्तिले घुसको संलग्नता भएको आशंका अझ प्रबल बनाएको छ।
एक सेवाग्राहीले प्रमाणसहित गुनासो दिए पनि कम्पनी रजिष्ट्रारको सूचना अधिकारी सूर्य प्रसाद चापागाईंले “कम्पनी रजिष्ट्रारको आधिकारिक Gmail मा निवेदन पठाउनुस्” भनेर सल्लाह दिएका थिए। सेवाग्राहीका अनुसार, उनले आश्वासन दिएका थिए कि निवेदन प्राप्त भएपछि सविता भट्टराईलाई सोधपुछ गरी “किन पछाडि पेश भएको निवेदन नम्बरको काम अघि सारियो” भन्नेबारे कारबाही गरिनेछ।
तर, निवेदन दर्ता भएको तीन दिन बितिसक्दा पनि कुनै छानबिन, चेतावनी वा कारबाही भएको छैन। यसले गुनासो सुन्ने निकाय स्वयं लापरवाही र ढिलासुस्तीमा संलग्न भएको संकेत गर्दछ।
सेवाग्राही र स्रोतहरूले तत्काल उच्चस्तरीय छानबिन गरी, अनियमिततामा संलग्न कर्मचारीहरूमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार, “यसरी घुस दिएर मात्र चाँडो काम हुने प्रवृत्ति अन्त्य नगरेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा पारदर्शिता र निष्पक्षता सम्भव छैन।





