काठमाडौं, असोज १५ – जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले आगामी अक्टोबर ९ मा कुनै प्रदर्शन नहुने स्पष्ट पारेका छन्।
हाल सामाजिक सञ्जालमार्फत उक्त दिन आन्दोलन हुने भन्ने हल्ला फैलिएको भए पनि ढुंगानाले त्यसमा सत्यता नरहेको बताए। उनले भने,
“अक्टोबर ९ मा कुनै पनि प्रकारको हिंसा, तोडफोड वा अशान्तिमा हाम्रो संलग्नता हुने छैन। जेनजीहरू त्यसमा सहभागी हुँदैनन्।”
ढुंगानाले भदौ २३ गते भएको प्रदर्शनलाई स्मरण गर्दै त्यस दिन प्राप्त उपलब्धीलाई ‘मुसो मार्न गएको बेला बाघ पक्रिएको’ भन्दै अब त्यसलाई शान्तिपूर्वक अघि बढाउने बताए।
उनले थपे, “एजेण्डाबिना हामी कुनै पनि आन्दोलनमा सहभागी हुँदैनौं। जरुरी परे शान्तिपूर्ण रूपमा दबाब दिने हो, तर हिंसात्मक गतिविधिमा हाम्रो भूमिका हुने छैन।”
ढुंगानाले हाल प्रदर्शन गर्नुपर्ने तत्कालीन आवश्यकता नभएको उल्लेख गर्दै आन्दोलनले कमाएको शान्तिलाई भड्काउने स्थिति आफूहरूले नबनाउने दृढता व्यक्त गरेका छन्।





