काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो विशाल मुलुकका लागि अब कसैमाथि निर्भर रहनु स्वीकार्य नहुने बताएका छन्। उनले बिहीबार उत्तर प्रदेशमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै आत्मनिर्भर भारतको आवश्यकता जोडदार रूपमा प्रस्तुत गरे।
प्रधानमन्त्री मोदीले भने, ‘भारत जस्तो देशले अब कसैमाथि निर्भरता स्वीकार्न सक्दैन। त्यसैले, भारत आत्मनिर्भर बन्नुपर्छ।’ उनले २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित मुलुक अघि बढिरहेको उल्लेख गर्दै अवरोध र अनिश्चितताबीच पनि भारतको आर्थिक वृद्धि प्रभावशाली बनेको दाबी गरे।
उनका अनुसार विभिन्न चुनौतीबीच पनि भारतले दीर्घकालीन आधार तयार गरिरहेको छ। ‘यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो— आत्मनिर्भर भारत,’ मोदीले भने।
उद्योग र उत्पादनक्षेत्रतर्फ संकेत गर्दै उनले ‘चिप्सदेखि जहाजसम्म सबै कुरा भारतमै उत्पादन गर्ने’ योजना अघि सारे। अमेरिकाबाट ५० प्रतिशतसम्म भन्सार महसुलको चुनौती सामना गरिरहेको भारतलाई स्वदेशी उत्पादनतर्फ जोड दिनुपर्नेमा प्रधानमन्त्री मोदी निरन्तर अपील गरिरहेका छन्।
उनले आत्मनिर्भर भारतलाई आर्थिक सबलता मात्र नभई रणनीतिक स्वतन्त्रताको आधारका रूपमा पनि प्रस्तुत गर्दै स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिन आग्रह गरे।





