वीरगंज — पर्साको वीरगंजमा दशैं मेला चलिरहेको बेला दुई युवा समूहबीच भएको ग्याङ फाइटमा एकजनाको ज्यान गएको छ।
प्रहरीका अनुसार, राति करिब १२ देखि १ बजेको बीचमा माईस्थान नजिक गितामन्दिर रोड क्षेत्रमा भीषण झडप भएको थियो। झगडाको क्रममा वीरगंज–१०, अशोक वाटिका निवासी करिब १८ वर्षीय गोल्डेन खान घाइते भई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

स्रोतका अनुसार, खानलाई चक्कु प्रहारबाट गम्भीर चोट लाग्दा अत्यधिक रक्तस्राव भएको थियो। उनलाई नारायणी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।
घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। सो क्रममा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरिएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ।

मृतकको शव हाल नारायणी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।





