वीरगन्ज – वीरगन्जमा लागेको दशैं मेलामा अष्टमीको राति भएको युवकको हत्या ‘खुनी दरिन्दे समूह’ नामक ग्याङले गरेको प्रहरीले सार्वजनिक गरेको छ।
पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार, ‘खुनी दरिन्दे समूह’ नामबाट ह्वाट्सएप ग्रुप बनाएको युवाहरूको टोलीले २० वर्षीय शिवम कुमार साह कानु (गोल्डेन) लाई हत्या गरेको हो।
मंगलबार राति ११:३० बजे वीरगन्ज महानगर–१० गीतामन्दिर रोडमा दुई समूहबीच झगडा हुँदा बाराको परवानीपुर गाउँपालिका–९ घर भई हाल वीरगन्जमा बस्दै आएका गोल्डेनको मृत्यु भएको थियो।
पत्रकार सम्मेलनमार्फत एसपी पाठकले बताएअनुसार, यसअघि पनि दुबै समूहबीच विवाद भएको र सोही रिसबी साँध्न ‘खुनी दरिन्दे समूह’ का सदस्यहरूले हातमुक्का र बाँसको भाटा प्रयोग गरेर गोल्डेनमाथि आक्रमण गरेका थिए। उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
२४ घण्टामै मुख्य आरोपीसहित पाँच जना पक्राउ
घटनापछि प्रहरीले तीव्र अनुसन्धान गर्दै २४ घण्टाभित्रै पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रमुख आरोपी पर्सा वीरगन्ज–२४ का १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा छन्।
तीमध्ये तीन जनालाई घटनाको रातमै नियन्त्रणमा लिइएको थियो भने दुई जना भारतको बिहार राज्य पश्चिमी चम्पारणको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली परिचालन गरी पाँच जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।





