पर्सा निर्वाचन क्षेत्र नम्बर-३ बाट आम जनता पार्टी (अजपा) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्ताखार ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगको प्रावधान अनुसार उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो चुनावी खर्चको विस्तृत विवरण बुझाएका हुन्।
प्रस्तुत विवरण अनुसार उम्मेदवार इस्ताखारले चुनावी अभियानका विभिन्न गतिविधिमा कुल रु. ५,६४,६०० खर्च भएको जानकारी दिएका छन्।
खर्च विवरण अनुसार मनोनयन दर्ता गर्दा रु. १०,००० खर्च गरिएको उल्लेख छ। त्यसैगरी सवारी साधन भाडा, इन्धन तथा चालक खर्च शीर्षकमा २ वटा सवारी साधन १९ दिन प्रयोग गर्दा रु. २,२५,००० खर्च भएको जनाइएको छ।
त्यस्तै नमुना मतपत्र तथा घोषणा पत्र छपाइमा रु. ५२,५०० खर्च भएको उल्लेख गरिएको छ। वडा स्तरीय प्रचार प्रसार १९ दिन ३५ वटा वडा ३५,००० खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी प्रचार-प्रसार सामग्री छपाइ, ब्यानर तथा बैच छपाईमा रु. ७३,९००, खाना, खाजा तथा चिया-पानी खर्च शीर्षकमा रु.८५,००० खर्च गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी स्टेशनरी सचिवालय प्रयोग सामग्री का लागि रु. १२,३०० खर्च भएको विवरणमा उल्लेख छ। त्यस्तै बूथ प्रतिनिधि परीक्षण तथा व्यवस्थापनमा रु. ३५,००० खर्च गरिएको छ भने गोष्ठी अन्तर्क्रिया खर्चमा पनि रु. ३५,००० खर्च भएको विवरणमा जनाइएको छ।
यसरी विभिन्न शीर्षकमा गरिएको खर्च जोड्दा उम्मेदवार इस्ताखारको चुनावी खर्च रु. ५ लाख ६४ हजार ६ सय पुगेको विवरणमा उल्लेख छ।
उम्मेदवार इस्ताखारले निर्वाचन आयोगले तोकेको कानुनी प्रावधान अनुसार पारदर्शिता कायम गर्न आफ्नो चुनावी खर्च सार्वजनिक गरिएको बताएका छन्।





