पर्साको पोखरिया नगरपालिकामा लामो समयदेखि भइरहेको भनिएको भ्रष्टाचार, अनियमितता तथा अपारदर्शिताको विषयमा पटक पटक सूचना माग्दा पनि उपलब्ध नगराइएको भन्दै आन्दोलनरत रहेको पोखरिया संघर्ष समितिले अन्ततः तीन महिनापछि माग गरिएको विवरण प्राप्त गरेको जनाएको छ।
संघर्ष समितिका अगुवाहरू र नगरपालिकाका प्रतिनिधिबीच आज भएको छलफलपछि आर्थिक वर्ष २०७९/८० देखि हालसम्मका विभिन्न शीर्षक अन्तर्गत भएका खर्च, खरिद तथा भुक्तानीसम्बन्धी विवरणहरू उपलब्ध गराइएको हो। समितिले यसअघि सार्वजनिक खरिद, जिन्सी खरिद, औषधि खरिद, इन्धन खर्च, तालिम सञ्चालन तथा विभिन्न विकास निर्माण योजनाहरूमा भएको खर्च र भुक्तानीको विवरण माग गर्दै आएको थियो।
सूचना प्राप्त भएसँगै संघर्ष समितिले अब उपलब्ध कागजात तथा विवरणहरूको गहन अध्ययन, विश्लेषण र छलफल गर्ने जनाएको छ। प्राप्त सूचनाहरूको सत्यता, खर्चको पारदर्शिता तथा कानुनी प्रक्रियाको पालना भए–नभएको विषयमा आगामी दुई दिनभित्र विशेषज्ञ, बुद्धिजीवी तथा सरोकारवालासँग छलफल गरी निष्कर्ष निकालिने बताइएको छ।
पोखरिया संघर्ष समितिका संयोजक राकेश महतोले प्राप्त विवरणहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक परे थप प्रमाण तथा स्पष्टीकरण मागिने जानकारी दिए। उनले भने, “हामीले माग गरेको सूचना तीन महिनापछि प्राप्त भएको छ। अब हतारमा कुनै निष्कर्ष निकाल्ने होइन, प्राप्त कागजातहरूको विस्तृत विश्लेषण र छलफलपछि मात्रै अगाडिको आन्दोलन तथा कार्यक्रम तय गर्नेछौं।”
महतोका अनुसार यदि विवरण अध्ययनका क्रममा अनियमितता, भ्रष्टाचार वा सार्वजनिक स्रोतसाधनको दुरुपयोग भएको प्रमाण भेटिएमा थप सशक्त आन्दोलन, सम्बन्धित निकायमा उजुरी तथा कानुनी प्रक्रिया अगाडि बढाइनेछ। उनले नगरबासीलाई पनि प्राप्त सूचनाको अध्ययनमा सहयोग गर्न तथा सुशासन र पारदर्शिताको पक्षमा एकजुट हुन आग्रह गरेका छन्।
सूचना प्राप्त भएसँगै पोखरिया नगरपालिकाको आर्थिक गतिविधि र खर्च विवरणमाथि जनचासो बढेको छ भने संघर्ष समितिले छिट्टै बैठक बसी आगामी रणनीति सार्वजनिक गर्ने जनाएको छ।





