पोखरिया, २० असार
पर्साको पोखरिया नगरपालिका–४ स्थित शिवाय ब्याँकेट पार्टी प्यालेसमा मनाराम फाउण्डेशनले “मसला, तरकारीबाली तथा फलफूल उत्पादक किसानका लागि असल कृषि अभ्यास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम” सम्पन्न गरेको छ।
यूके–० इन्टरनेशनल डेभलपमेन्टको सहकार्यमा आयोजित कार्यक्रममा किसानलाई आधुनिक तथा सुरक्षित कृषि प्रविधि, उत्पादनको गुणस्तर सुधार, रोग तथा कीरा व्यवस्थापन, र बजारमुखी खेतीबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले असल कृषि अभ्यास (Good Agricultural Practices) अपनाउँदा उत्पादन वृद्धि, लागत व्यवस्थापन तथा उपभोक्तालाई सुरक्षित कृषि उपज उपलब्ध गराउन सहयोग पुग्ने विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मसला, तरकारी तथा फलफूल खेतीमा संलग्न किसानहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई कृषि सम्बन्धी जानकारीमूलक सामग्रीसहित कपडाको झोला, कपी र पेन वितरण गरिएको थियो। कार्यक्रमका क्रममा सहभागीबीच कृषि अनुभव आदान–प्रदान तथा खेतीमा देखिएका समस्या र समाधानका उपायबारे पनि छलफल गरिएको थियो।
मनाराम फाउण्डेशनका संस्थापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानु, महासचिव रामप्रसाद घिमिरे, सीईओ सागर केसी, एलिना प्रजापती, कार्यक्रम संयोजक ईश्वर देवकोटा, इन्जिनियर बसन्त पौडेल, चन्द्रनारायण पण्डित, कृषि ज्ञान केन्द्र पर्साका प्रशिक्षक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले किसानलाई आधुनिक कृषि प्रविधिप्रति आकर्षित गर्दै उत्पादन वृद्धि, गुणस्तरीय कृषि उपज उत्पादन तथा आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।





