पोखरिया। पोखरिया नगरपालिका-४, टोल सतवरिया स्थित मस्जिद ए उमर फारुक को शुभारम्भ समारोह भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पूर्व नगर प्रमुख दिपनारायण रौनियार, वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, वडा नं. ५ का वडा अध्यक्ष महिन्द्र महतो, समाजसेवी टाइसन यादव,अब्दुल फरमान लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
मस्जिद व्यवस्थापन समितिका अध्यक्ष रहिम मियाँले उपस्थित सम्पूर्ण अतिथि, सहयोगदाता तथा स्थानीयवासीलाई स्वागत गर्दै मस्जिद निर्माण तथा शुभारम्भमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मस्जिद धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक सद्भाव, नैतिक शिक्षा र समुदायबीच एकताको सन्देश फैलाउने थलोका रूपमा विकसित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अतिथिहरूले मस्जिदको सफल शुभारम्भको शुभकामना व्यक्त गर्दै सबै धर्म र समुदायबीच आपसी सम्मान, सहिष्णुता तथा भाइचाराको भावना अझ सुदृढ बनाउन यस्ता धार्मिक संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न उक्त समारोहले सतवरिया टोलमा धार्मिक सहिष्णुता, सामाजिक एकता र सामुदायिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।





