शैलेश गुप्ता24 चैत्र पोखरिया
पर्सा, पोखरिया — पोखरिया नगरपालिकामा ठेकेदार दीपेन्द्र यादवद्वारा सञ्चालन गरिएका विभिन्न विकास योजना तथा जिन्सीसम्बन्धी कामहरूमा अनियमितता र गुणस्तरहीनता रहेको आरोप सार्वजनिक भएपछि त्यसको प्रभाव देखिन थालेको छ।
स्थानीय स्रोतका अनुसार, उक्त समाचार सार्वजनिक भएसँगै जनप्रतिनिधिहरूले यादवलाई दिइएका केही योजना तथा जिन्सीसम्बन्धी कामहरू फिर्ता लिन थालेका छन्। नगरपालिकाभित्रैबाट समेत कामको गुणस्तरप्रति असन्तुष्टि बढेपछि यस्तो कदम चालिएको बताइएको छ।
स्रोतका अनुसार, यादवले विभिन्न योजनाहरूमा मापदण्डअनुसार काम नगरेको, सामग्रीको गुणस्तर कमजोर प्रयोग गरिएको तथा काम सम्पन्न गर्ने प्रक्रियामा पारदर्शिता नअपनाइएको आरोप लागेको छ। यसअघि पनि उनीमाथि विभिन्न योजनामा अनियमितता गरेको भन्दै आलोचना हुँदै आएको थियो।
जनप्रतिनिधिहरूले भने सार्वजनिक रूपमा केही नबोले पनि आन्तरिक रूपमा कामको पुनरावलोकन गर्दै आवश्यक परेमा अन्य ठेकेदारमार्फत काम सम्पन्न गराउने तयारी गरिएको स्रोतको दाबी छ।
यता, स्थानीय बासिन्दाहरूले भने नगरपालिकाले समयमै अनुगमन नगर्दा यस्ता समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। उनीहरूले गुणस्तरीय काम सुनिश्चित गर्न कडाइका साथ निगरानी र छानबिन गर्न माग गरेका छन्।





