लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हाल देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनालाई राजनीतिक प्रतिशोधसँग जोड्दै व्यक्तिगत तथा सरकारी सम्पत्तिमाथि लक्षित आक्रमण भएको बताएका छन्।
शनिबार कपिलवस्तुमा स्थलगत अनुगमन गर्दै उनले जेनजी आन्दोलनको नाममा अराजक गतिविधि बढेको र यसले नागरिक जीवन प्रभावित बनाएको बताए। अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी (पूर्व), बाँके, रुपन्देही र कपिलवस्तुका जलेर ध्वस्त भएका कार्यालय तथा निजी संरचनाहरूको प्रत्यक्ष अवलोकनपछि मुख्यमन्त्री आचार्यले “व्यक्तिगत घर र सम्पत्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको छ, जुन कदापि स्वीकार्य छैन” भन्ने प्रतिक्रिया दिए।
उनका अनुसार प्रदेशभर दुई सयभन्दा बढी कार्यालय र भवन तोडफोड, आगजनी र लुटपाटबाट प्रत्यक्ष प्रभावित भएका छन्। उनले नागरिकसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू पुनः सञ्चालन भइसकेको र कार्यालयहरूको पुनर्निर्माण कार्य चाँडै अघि बढाइने जानकारी दिए।
“सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन हाम्रो कोसिस जारी छ,” उनले भने, “अब कार्यालयहरूको पुनर्निर्माण सुरु हुन्छ, केही समयपछि अवस्था सामान्य हुन्छ।”
मुख्यमन्त्री आचार्यले अराजक गतिविधि नियन्त्रण र दोषीलाई कानुनी दायरामा ल्याउन संघीय सरकारसँग आग्रह समेत गरेका छन्। उनका अनुसार आगजनी र तोडफोडबाट कुनै पनि सरकारी वा निजी कार्यालय सुरक्षित नरहेको तथ्य देखिएको छ।
खरानी बनेका संरचनाबाट फेरि उठ्ने संकल्प आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिक र कर्मचारीको मनोबल उच्च बनाइ प्रदेश सरकारले सेवा प्रवाह निरन्तरता दिने प्रतिबद्धता दोहोर्याए।





