पर्सा । सरकारी कामका लागि आवश्यक कागजातको फोटोकपी गराउन वडा कार्यालयबाहिर पसल–पसल धाउनुपर्ने नागरिकको बाध्यता अब जगरनाथपुर गाउँपालिका–६ मा अन्त्य हुने भएको छ। वडा कार्यालयले सेवाग्राहीका लागि निःशुल्क फोटोकपी सेवा सञ्चालनमा ल्याएको छ।
जगरनाथपुर गाउँपालिका–६ का वडा अध्यक्ष अजोध्या प्रसाद कुर्मीको पहलमा वडा कार्यालयमा सेवा लिन आउने नागरिकलाई निःशुल्क फोटोकपीको व्यवस्था गरिएको हो। विशेषगरी सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिक, वृद्धवृद्धा, एकल महिला तथा अशक्त सेवाग्राहीलाई सहजता हुने गरी यो सेवा विस्तार गरिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार बाहिर फोटोकपी गराउँदा लाग्ने शुल्क, समय र आवतजावतको झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो। यसअघि पनि सामाजिक सुरक्षा भत्ता लगायतका सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी निःशुल्क फोटोकपीको अभ्यास हुँदै आएकोमा वडा समितिको निर्णयपछि सेवा सम्पूर्ण आम नागरिकका लागि विस्तार गरिएको जनाइएको छ।
वडा कार्यालयमा आउने नागरिकका लागि फोटोकपीजस्तो सामान्य देखिने सेवाले पनि आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। यसबाट नागरिकको समय, पैसा र अनावश्यक सास्ती बचत हुने वडा कार्यालयको विश्वास छ।
वडा सचिव विनोद साह गोठका अनुसार नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले यस्ता जनमुखी सेवामा जोड दिएको छ।
नागरिकको दैनिक समस्यालाई सम्बोधन गर्ने यस्ता साना तर प्रभावकारी पहलले स्थानीय तहमा सुशासन, सेवाप्रवाह र जनउत्तरदायित्वलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





