पोखरिया, पर्सा । पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा शैलेस साह कानुले उम्मेदवारी दिने घोषणा गरेसँगै वडाको राजनीतिक तथा चुनावी माहोल तातेको छ।
आगामी मिशन २०८४ लाई लक्षित गर्दै साहले वडा नम्बर ४ को विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी स्थानीय शासनलाई प्राथमिकतामा राखेर वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणासँगै वडा क्षेत्रमा युवा, बुद्धिजीवी तथा स्थानीय जनताबीच उनको उम्मेदवारीबारे चर्चा बढेको छ। स्थानीयस्तरमा लामो समयदेखि देखिएका विकास तथा जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउँदै आएको भन्दै केही स्थानीयले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको बताइएको छ।
साहले विगतको हिसाब–किताब सार्वजनिक हुनुपर्ने, सार्वजनिक स्रोतबाट भएको प्रत्येक खर्च जनतासामु पारदर्शी रूपमा प्रस्तुत गर्नुपर्ने र वडा सञ्चालनमा जवाफदेहिता तथा सुशासन कायम गर्नुपर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
उनले वडा नम्बर ४ का जनतालाई सेवा गर्ने अवसर पाए पारदर्शी, भ्रष्टाचाररहित, जनमुखी र विकासमुखी वडा निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणासँगै वडा नम्बर ४ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक गतिविधि र जनचासोसमेत बढ्न थालेको छ। स्थानीय युवा, बुद्धिजीवी र सर्वसाधारणबीच अब वडाको नेतृत्व र विकासका विषयमा नयाँ बहस सुरु भएको देखिन्छ।





